नेपाली प्रगतिवादी साहित्य र कलाको आन्दोलन यतिबेला ठूलो संकटमा परे जस्तो देखिन्छ । जो हिजो आगो खाएर अंगार ओकाल्ने ढंगले प्रगतिवादी साहित्य कलाको क्षेत्रमा संलग्न रहेका मुर्धन्य साहित्यकारहरू थिए तिनीहरूमध्ये कति यतिबेला चाउरिएको मरीज भएका जस्ता भएका छन् आगो निभेका दाउरामा ठूटा जस्ता भएका छन् । फायर भइसकेका गोलीका खोकाजस्ता भएका छन् । फुटेका मादल जस्ता भएका छन् । छाला नकस्सिएको दमाहा जस्ता भएका छन् । पक्कै हो हिजो कति प्रगतिवादी साहित्य कलाको क्षेत्रमा समर्पित लेखक कवि र कलाकारहरूमा आज निकै ठूलो बिचलन आएको देखिन्छ । हिजो उनीहरू जुन जुन कुराको बिरोध गरेर हिंड्दथे र अरुलाई पनि विरोध गर्न उत्प्रेरित गर्दथे , आज उनीहरू तिनै कुराका पुजारी बनेका छन् । तिनै तिनै कुराका भक्त बनेका छन् । अभ उनीहरू स्तुति गायक बनेका छन् । प्रशस्ती गायक बनेका छन् । भाट बनेका छन् । यसरी उनीहरूले हिजो हिंडेको प्रगतिवादी बाटो भत्काएर घोर परम्परावादी बाटो अवलम्बन गर्न थालेका छन् । प्रतिगामी बाटो अनुृशरण गर्न थालेका छन् । उनीहरूले साहित्य र कलाको क्षेत्रमा कुनै क्रान्तिकारी बाटो होइन प्रतिक्रान्तिकारी बाटो अवलम्बन गरिरहेका छन् ।
बडो दुखको कुरा , यतिबेला प्रगतिवादी साहित्य कलाको आन्दोलनमा लागेको पुरानो पीढीका केही चर्चित लेखक कविहरू यतिबेला हामीबीच छैनन् । यसै क्षेत्रमा आजीवन समर्पित रहेर सृजनामा लाग्दा लाग्दै उनीहरूको दुखद् मृत्यु भैसकेकोछ । जे होस, जतिबेलासम्म उनीहरू हामीबीच थिए उनीहरूले.इमान्दारीपूर्वक प्रगतिवादी साहित्य र कलाको क्षेत्रमा सक्दो योगदान पुराएका थिए । निश्चित रुपमा कतिपय कमी कमजोरीको बावजुद गोकुल प्रसाद जोशी , युद्धप्रसाद मिश्र , पारिजात , केवल पुरे किसान , शक्ति लम्साल , गोविन्द भट्ट , भवानी घिमिरे आदिले आफ्नो समयमा प्रगतिवादी साहित्य र कलाको क्षेत्रमा सक्दो योगदान पुृराएकै हुन् । महत्वपूर्ण भूमिका खेलेकै हुन् ।
निकै पछिल्लो पीढीका कवि लेखक भए पनि कृष्ण सेनले प्रगतिवादी साहित्य र कलाको क्षेत्रमा अमूल्य योगदान पुराएका छन् । उनी प्रगतिवादी साहित्य र कलाको आन्दोलनमा त एउटा चम्किला ताराको रुपमा स्थापित भैसकेका छन् । कवि कृष्णसेन ईच्छुकसित प्रगतिवादी नयाँ यथार्थवादी सायित्य र कलाको आन्दोलनमा संलग्न साहित्यकार र कलाकारहरू यतिबेला अग्नि परीक्षामा नै रहेका छन् । तीमध्ये कति प्रगतिवादी साहित्य कलाको आन्दोलनको अग्नि परीक्षाबाट खरा उत्रिने हुन् , कति त्यसमा जलेर भष्म खरानी हुन पुग्ने हुन् त्यो भविष्यको गर्भमा नै लुकेको छ ।
निश्चित रुपमा यतिबेला प्रगतिवादी साहित्य र कलाले नयाँ नेतृत्व खोजिरहेको छ । नयाँ गोरेटो खोजिरहेको छ । नयाँ दिशा खोजिरहेको छ । नयाँ उर्जा खोजिरहेको छ ।
शायद यतिबेला राजनैतिक क्षेत्रमा क्रान्तिकारी शक्तिभन्दा पनि प्रतिक्रान्तिकारी अथवा सुधारवादी शक्ति हावी भएको हुनाले पनि प्रगतिवादी साहित्य र कलाको क्षेत्रमा यस्तो बिचलन आएको होला । यस्तो शुण्यता छाएका होला । यस्तो शिथिलता देखिएको होला । यस्तो गतिहिनता भएको होला । राजनैतिक क्षेत्रमा यतिबेला देखा परेको अन्योलता अस्थिरता र अराजकताले पनि प्रगतिवादी साहित्य र कलाको क्षेत्रमा यस्तो नकारात्मक असर पारेको होला ।
यतिबेला प्रगतिवादी साहित्य र कलाको झण्डा प्रगतिशील लेखक संघले बोकेको छ । तर यसका गतिविधि पनि प्रभावकारी र नेतृत्वदायी हुन सकेका छैनन् । फेरि यो एक प्रकारले प्रगतिशील लेखकहरूको कुम्भ मेला जस्तो भएको हुनाले पनि यसले खासै कुनै गति लिन सकेको छैन । यसले कुनै आन्दोलनको सृष्टि गर्न सकेको छैन । यसमा संलग्न कति लेखक पूर्व फर्केका छन् भने कोही पश्चिम । कोही उत्तर फर्केका छन् भने कोही दक्षिण । कोही दायाँ फर्केका छन् भने कोही बायाँ । यसैले पनि प्रगतिशील साहित्य र कलाको धार यतिबेला कुम्भकरणको निन्द्रामा सुते जस्तो देखिन्छ । शायद यस्तो अन्योलको अवस्था र स्थितिले गर्दा पनि होला प्रगतिवादी साहित्य र कलाको सृजनाको आन्दोलनमा लागेका कैयौं लेखक कवि कलाकार यतिबेला तितर वितरको अवस्थामा पुगेका छन् । लाखा पाखा लागेको अवस्थामा पुगेका छन् । दाहिने बायें लागेको अवस्थामा पुगेका हुन् । कति त झन् किनारा लागेको अवस्थामा पुगेका हुृन् ।
प्रगतिवादी खेमाका पुराना पीढीका कैयौ लेखकको मृत्यु भैसकेको र बाँकी कति लेखकहरूले आफ्नो धार नछोडे पनि सक्रियतापूर्वक सृजनामा नलागेको हुनाले पनि प्रगतिवादी साहित्य र कलाको आन्दोलन टुृहुरो जस्तो हुन पुगेको हो । बेसहारा जस्तो हुन पुगेको हो । लावारिस जस्तो हुन पुगेको हो । अनाथ जस्तो हुन पुगेको हो ।
प्रगतिवादी साहित्य र कलाको दोस्रो पुस्तामा ठूलो बिचलन आएको र त्यस बिचलनबाट बचेका साहित्यकारहरू पनि अरु कारणलेभन्दा पनि बैचारिक बिभाजनले नेतृत्व लिने र दिने अवस्थामा छैनन् । अहिले पनि प्रगतिवादप्रति प्रतिबद्ध रहेका लेखक कवि कलाकारहरू आ आफ्ना पाराले अघि बढिरहेका छन् । शायद यतिबेला प्रगतिवादी साहित्य सर्जकहरूसित न अघि बढ्ने कुनै नारा छ न दिशा नै । न कुनै कार्यक्रम छ न कुनै योजना नै । यसले गर्दा नै नेपाली प्रगतिवादी साहित्य र कलाको आन्दोलन यतिबेला दिशाहीन र उद्देश्य विहिन हुन पुगेको हो ।
वास्तवमा नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनले खुृला बातावरणमा प्रवेश गरे पछि अग्रगति लिन छोडेको हो । मुख्यत पंचायतकालीन कालरात्रिको बेला नेपालको प्रगतिवादी साहित्य सृजनको लागि एक प्रकारले स्वर्णीम युग थियो भन्न सकिन्छ । किनभने यसैबेला भूमिगत रुपमा प्रगतिवादी साहित्य आन्दोलन भूसको आगो जस्तै भित्र भित्रै सल्किदै गएको थियो । दन्किदै गएको थियो । त्यस अवधिमा नै प्रगतिवादी साहित्य र कलाको तीब्रतर सृजना हुन सक्यो । त्यस पछि माओवादीको दशबर्षे जनयुद्धकालमा पनि प्रगतिवादी साहित्य र कलाको तीब्र रुपमा सृजना भयो । त्यतिबेला नयाँ यथार्थवादी साहित्य र कलाको भण्डार भर्ने काम भयो । दश वर्ष जनयुद्धले धेरै धेरै साहित्यकार र कलाकारहरूलाई मात्र जन्माएन त्यसले जनयुद्धको सौन्दर्यलाई एउटा माथिल्लो उचाइमा समेत पृुरायो । तर जनयुद्ध लाखा पाखा लाग्नासाथ नयाँ यथार्थवादी साहित्य पनि लाखा पाखा लाग्न थाल्यो । जनयुद्धको सौन्दर्य पनि लाखापाखा लाग्न थाल्यो । ठीकै हो , जनयुृद्धको विधिवत् अन्त्य पछि पनि जबसम्म जनयुद्धको प्रभाव कायम नै रहिरह्यो त्यसले पनि जनयुद्धको सौन्दर्यलाई समृद्ध पार्ने कार्यलाई जारी नै राखिरह्यो ।
अहिले प्रगतिवादी साहित्यको फांँटमा भर्ती भएका नयाँ रिक्रूटहरूमा प्रगतिवादी साहित्य सृजन गर्ने नयाँ जोश र नयाँ उत्साह भए पनि त्यसबारे उनीहरूमा न आवश्यक अध्ययन छ न तालिम । उनीहरू युद्धको बेलामा बिना तालिम बन्दुक थमाइदिएर युद्धभूमिमा होमिदिइएका सिपाही जस्ता भएका छन् । उनीहरू कति बेला कता बन्दुक तेर्साउनु पर्ने हो त्यो थाहा पाउन सक्दैनन् । यसैले उनीहरूले बन्दुक पडकाउँदा दुश्मनतिर सोझाएर पडकाउन पनि सक्दछन् । आफ्नै मित्रतिर सोझाएर पडकाउन पनि ।
यसले गर्दा प्रगतिवादी साहित्य र कलाको आन्दोलन अराजक पनि हुृन पुगेको छ । अर्कोतिर यसले आफ्नो पहिचान गुमाउन सक्ने निकै ठूलो खतरा पनि देखिन थालेको छ । यसैले यतिबेला प्रगतिवादी साहित्य र कलाको सृजनको फांटलाई सुखाग्रस्त क्षेत्र घोषणा गर्न पर्ने हो कि ? अन्योलग्रस्त क्षेत्र घोषणा गर्न पर्ने हो कि ? यस क्षेत्रलाई राष्ट्रिय संकटको क्षेत्र घोषित गर्न पर्ने हो कि ? यस क्षेत्रलाई सशक्त आन्दोलनको क्षेत्र पो घोषित गर्न पर्ने हो कि ? जे होस् , यदि हामी प्रगतिवादी साहित्य र कलाको अभिवृद्धिको लागि गंभीर छौं भने हामीले यथाशीघ्र कुनै न कुनै कुराको घोषणा गर्न आवश्यक छ । घोषणा यति र उति बुँदे हुृनु पर्दछ भन्ने केही छैन । त्यो एक बुँदे पनि हुन सक्दछ । एक सय बुँदे पनि । यो कुराको घोषणा यसको खास जिम्वेवारी बोकेको प्रगतिशील लेखक संघले गर्दा झन् राम्रो हुन्छ । प्रगतिशील लेखक संघ प्रगतिशील साहित्यिक आन्दोलनको गोठालो हो । स्वयं गोठालो नै कतै बाँसुरी बजाएर बस्छ भने प्रगतिवादी साहित्य र कलाको भविष्य कस्तो होला ? अहिलेको निकै ठूलो चिन्ता र चासोको विषय नै यही हो ।
२६/५/०७३
प्रलेस रुपन्देही , अङ्क - २ बाट साभार
No comments:
Post a Comment